कांग्रेसको बाँकी रहेका जिल्लामा आज वडा अधिवेशन हुँदै
काठमाडौं : क्रियाशील विवाद, चाडवाड विवादलगायत विभिन्न कारणले रोकिएको कांग्रेसको वडा अधिवेशन शनिबारबाट शुरु हुँदैछ ।
भदौ १८ बाट शुरु भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सम्पन्न भइसकेको छ । विवादका कारण बाँकी रहेका जिल्लाहरुको वडा अधिवेशन केन्द्रीय निर्वाचन समितिले आजबाट तोकेको हो ।
सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आजका लागि वडा अधिवेशन तोकिएको छ । यसमध्ये तीन जिल्लामा भने शनिबार वडा अधिवेशन नहुने भएको छ ।
सिन्धुपाल्चोक कांग्रेसले बाँकी रहेको वडामा मंगलवारमात्र वडा अधिवेशन गर्ने भएको छ । यसैगरी पर्सामा पनि वडा अधिवेशन नहुने भएको छ ।
नेपाली कांग्रेस पर्साले आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको छ । यता सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ ।