विप्लव समूह माओवादी केन्द्रमा नै फर्किने प्रचण्डको विश्वास
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चन्द माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन् ।
उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए ।
कार्यक्रममा अध्यक्ष दाहालले एउटा समयमा जनता, आन्दोलन, संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने दाबी गरे ।
अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै आफुलाई नेपाली जनताले जन्माएको उल्लेख गरे । प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाए ।