उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहीवार समापन गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो ।


छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।
छठको तेस्रो तथा मूख्य दिन बुधबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले बिहीवार उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।


काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।


दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरे । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।


सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।