शासन गर्ने मन भए चुनाव जितेर आउन पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन् । उनले पूर्वराजा शाह गणतन्त्रविरुद्ध लागेको आरोप लगाउँदै शासन गर्न मन भए निर्वाचन लड्न चेतावनी दिए ।

गणेशमान सिंह स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रजातन्त्रविरुद्ध नलाग्न पूर्व राजा शाहलाई चेतावनी दिए । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता भएको स्मरण गराउँदै शासन गर्ने चाहना भए चुनाव लडेर आउन शाहलाई चुनौती दिए ।

पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिँदा पनि आफूलाई जेलमा हालेको स्मरण गर्दै प्रधानमान्त्री देउवाले शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए ।

अहिलेको संविधान सबैभन्दा राम्रो, समावेशी, समानुपातिक भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले संविधानमा सबै अटाएको र समस्या आए प्रजातान्त्रिक ढंगबाटै समाधान गरिने पनि बताए ।

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए । उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.