प्रधानसेनापति प्रभुराम शर्मा भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका छन् ।
प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गरेका हुन् ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा मंगलबार दिल्ली गएका थिए ।
प्रधानसेनापति शर्माले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ । मंगलबार शर्माले भारतका सेनाध्यक्ष नरवणेसँग भेटवार्ता गरेका थिए ।
प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी आरसी खत्रीलगायत छन् । नेपाल र भारतका सेनापतिहरुलाई एक अर्का देशमा मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने परम्परा रहेको छ ।
केही समय अघि नेपाल भ्रमणमा आएका बेला भारतका सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारील्े मानार्थ महारथीको दर्जाबाट सम्मान गरेकी थिइन् ।