छठ पर्व शुरु, आज ‘नहाय खाय’ विधि गरिँदै

0

काठमाडौं : विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व सोमबारदेखि विधिवत् रूपमा शुरू भएको छ । कार्तिक शुक्ल चौथी छठको पहिलो दिन हो ।

यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक छाक मात्र खाइन्छ ।

व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् ।

कार्तिक शुक्ल चौथीदेखि शुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । नेपालमा मात्र नभइ यो पर्व भारतमासमेत धुमधामका साथ मनाइन्छ ।

अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

Leave A Reply

Your email address will not be published.