सत्तारुढ गठबन्धन लोकतन्त्रको भक्षक : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् ।
एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धन लोकतन्त्रको भक्षक भएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले उनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता नभई सत्ता चाहिएको समेत बताए ।गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए ।
उनले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरे । एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने उनको भनाइ थियो ।
उनले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।