कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।
उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताए ।
प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे । उनले भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिए ।