प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त
काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेका मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेपछि सोमबार राजीनामा दिएका थिए । पाँच दलीय गठबन्धनले राईलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्षा बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
सोही बमोजिम प्रदेश प्रमुख प्यासीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनी तत्कालीन नेकपा एमालेबाट भोजपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर‚ गत भदौमा एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेका थिए ।