काठमाडौं : सर्वोच्च अदालतमा सोमबारबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार बन्दी प्रत्यक्षीकरणका छ वटा मुद्दाको मात्रै पेशी तोकिएको हो । अन्य मुद्दाको सुनुवाई स्थगित गरिएका छन् ।
आइतबार न्यायाधीशहरुले राणासँग वार्ताका लागि न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरेका थिए । टोलीले आइतबार नै प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो ।
वार्ता टोलीले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न आग्रह गरेका थिए । सोही अनुसार सोमबार राणाले बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी नतोकेका हुन् ।
विवाद समाधानका निम्ति मध्यमार्गी बाटोका रुपमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेर अघि बढ्ने र समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु भएको बताइएको छ ।
आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि सोमबारबाटै इजलासमा फर्केका छन् । उनीहरुले विगत एक सातादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । उनीहरुले विवादमा आएका प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।
बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने बताइएको छ । प्रधानन्यायाधीशले आइतबार सम्मानजनक बहिर्गमन चाहेको जानकारी गराएपछि दुबै पक्ष छलफलमा जुटेका हुन् ।