प्रधानमन्त्री देउवा लण्डनमा
लण्डन : जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप–२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन आइपुगेका छन् ।
प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेको ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति लण्डन आइपुगेको हो ।
प्रधानमन्त्री देउवा शुक्रबार बिहान काठमाडौंबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार बेलायत रहने तथा विभिन्न भेटघाट र कार्यक्रममा व्यस्त हुनेछन् ।