काठमाडौं : नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । उक्त आन्दोलनको अवधिमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।
बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा बाहेकको बेञ्चमा बहस गर्ने निर्णय गरेको छ । बारले प्रधानन्यायधीश राणालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ ।
आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ । नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने निर्णय गरिसकेको छ ।