प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनको माग
काठमाडौं : बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन माग गरेको छ ।
बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।
‘वर्तमान संकट निदानका लागि जागृत बार एसोसिएसन, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबराले संवैधानिक अंगहरूमा भागबण्डा गरेको घटनाले न्यायपालिकाको मर्यादा गिरेको पनि बताएको छ ।
यसैगरी संसदीय सुनुवाई समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबण्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्ने विषयमा प्रमुख दलहरुले आफ्नो दृष्टिकोण प्रष्ट पार्नुपर्ने पनि आन्दोलनले बताएको छ ।

