नेपालगञ्ज : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक उम्मेदवार रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफनो समूहबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे ।
आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफनो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने पौडेलले दाबी गरे ।
नेता पौडेलले गठबन्धनको नेतृत्व गर्दै सरकारमा सहभागी भए पनि आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने स्पष्ट पारे । पार्टी अधिवेशन अघि बढाउने विषयमा तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आफुले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने पनि उनले बताए ।
पार्टीको अधिवेशन कार्यतालिकाअनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्ने उल्लेख गरे ।
उनले सरकारले किसानलाई तत्काल क्षतिपूर्ति, राहत र बाढी पहिरोको जोखिम ठाँउमा सुरक्षाको ब्यबस्था गर्न सरकारले प्याकेजमै कार्यक्रम बनाएर तत्काल अगाडी बढ्न जोड दिए ।