काठमाडौं : अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६ सय २० मात्रा कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मार्फत उपलब्ध गराइएको फाइजरको खोप कतार एयरवेजको विमानमार्फत सोमबार बिहान काठमाडौं आइपुगेको हो ।
एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अस्पतालमा उपचाररत् क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई यो खोप दिन लागिएको हो ।
फाइजर खोप पहिलोपटक नेपाल भित्रिएको हो । अमेरिकाले यसअघि जुलाईमा १० जोन्सन एन्ड जोन्सनको १० लाख ५३ हजार मात्रा खोप सहयोग गरेको थियो ।
यसअघि नेपालमा एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आएका थिए ।
अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने सम्झौता नेपालले गरिसकेको छ ।
पुससम्ममा उक्त खोप नेपाल आइपुग्ने भएकाले खोप भण्डारणका लागि भौतिक पूर्वाधार निर्माणको काम सरकारले गरिरहेको छ । सो खोप बालबालिकालाई लगाउने तयारी छ ।