एजेन्सी : देश सीमा सुरक्षा बढाउन चीनले नयाँ कानून प्रयोगमा ल्याउने भएको छ भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको हो । ७२ बर्षपछि चीनले सीमालाई कसरी सञ्चालन गर्ने भनेर पहिलो पटक नयाँ कानून प्रयोगमा ल्याउने भएको हो ।
सो कानून जनवरी एकदेखि लागू हुने बताइएको छ । अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि सीमा जोडिएको पश्चिमी प्रान्त सिन्जियाङमा पर्न सक्ने प्रभावलाई मध्येनजर गरेर नयाँ कानून ल्याइएको बताइएको छ ।
त्यस्तै म्यानमार तथा भियतनामबाट आउने आप्रवासीले फैलाउन सक्ने कोरोना संक्रमणको संक्रमणलाई पनि ध्यानमा राखेर नयाँ कानून ल्याइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
यस कानूनले सीमा क्षेत्र नजिक ड्रोन उडाउन पनि निषेध गरेको छ । सो कानून अनुसार चीनले सीमाको आफ्नो तर्फको क्षेत्रमा यातायात, संचार र रक्षासङ्ग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ ।
बिना स्वीकृति कुनै पनि संगठन या व्यक्तिले स्थायी संरचना बनाउन पाउने छैनन् । तर, सो कानूनले कुनकुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन ।
चीनको नेपालसहित विभिन्न १४ मुलुकसँग जमिनमा झन्डै २२ हजार किलोमिटर सीमा जोडिएको छ । सीमा सुरक्षामा चिनियाँ जनमुक्ति सेना र पिपुल्स आर्म पुलिस फोर्स खटिने गरेका छन् ।