प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका हुन् ।
‘कात्तिक ७ गते आइतबार दिनको १२ः३० बजे बस्ने गरी कार्यसूची समेत निर्धारण गरी तोकिएकोमा उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेको मिति परिवर्तन गरी पाउँन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा निमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७८/०७/०७ का लागि निर्धारण गरिएको कार्य सूची बमोजिम नै हुने गरी मिति २०७८ कात्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्नेछ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने भन्दै आजको बैठक सार्न भनेको थियो भने एमालेले पार्टीको आन्तरिक अधिवेशन जारी रहेको भन्दै बैठक सार्न अनुरोध गरेको थियो ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको लिने प्रयोजनका लागि आइतबार मध्यान्ह साढे १२ बजे बस्ने गरी डाकिएको प्रदेश सभा बैठक आठ दिनलाई सारिएको हो ।
