काठमाडौं : प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि बाढी पहिरो पीडितलाई राहत दिने बताएका छन् ।
बेमौसमी वर्षाले नेपालको पुर्वी क्षेत्रमा पुर्याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ पुगेका प्रधानमन्त्री देउवाले तत्कालिन अवस्थामा मृतकका परिवारलाई केही पैसा उपलव्ध गराई सकिएको र काठमाडौं फर्किए लगत्तै राहत प्याकेज ल्याउने आश्वासन दिए । उनले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउने दाबी पनि गरे ।
प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए ।
प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंसा गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।
बेमौसमी वर्षापछि आएको बाढी र पहिरोमा परी प्रदेश नम्बर एकमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् भने ७ जना अझै बेपत्ता छन् । त्यस्तै ५ सय ७० घर पूर्ण रुपमा र ८ सय ९४ घरमा आशिंक रुपमा क्षति पुगेको छ ।
प्रधानमान्त्रीलाई ४ हजार चौपायाको क्षति भएको, १२ वटा प्रहरी कार्यालय र १२ अन्य सरकारी कार्यालयमा क्षति पुगेको जानकारी गराइएको थियो । प्रदेश सरकारका अनुसार बाढीबाट प्रदेस नम्वर १ मा १५ देखि २० प्रतिशत धानबाली नोक्सान भएको छ ।