यस वर्ष महानवमीमा तलेजु भवानीको मन्दिर खुल्ने
काठमाडौं : कोरोना जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो ।
यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् ।
तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ ।
विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।