बडादशैंको सातौं दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व मंगलबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड बडादशैंको चहलपहल फूलपातीका दिनदेखि अझै बढ्ने गर्दछ ।

फूलपातीका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फूलपाती भित्राउन साइतको आवश्यक्ता पर्दैन । हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

हनुमान ढोकामा यस वर्षको फूलपाती मंगलबार अपराह्न साढे चार बजे भित्राइने कार्यक्रम रहेको छ । सो अवसरमा नेपाली सेनाले फूलपाती बढाइँ समेत गर्दछ । सैनिकमञ्च टुँडिखेलमा हुने बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुने कार्यक्रम छ ।