एमालेद्वारा रुपन्देही घटनाबारे सरकारको जवाफ माग
काठमाडौं : नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा भएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए । उनले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्दै गृहमन्त्री खाँणलाई प्रश्न समेत गरे ।
उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकका परिवारालई क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरे । सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताए ।
सांसद भट्टराईले सत्तापक्षका सांसदहरुलाई संसद् बाहिर लोगो लगाएर हिँड्न सक्ने अवस्था नरहेको दाबी गरे । सरकारले गरेका कामका कारण सत्तापक्षका सांसदहरुको शिर निहुरिएको उनको तर्क थियो ।
यसअघि एमालेलाई कमजोर बनाउने उद्देश्यले काम भएपनि अहिले परमादेशबाट एमाले नेतृत्वको सरकार हटाउन सफल हुनुको रहस्य बाहिर आउन थालेको उनको भनाइ थियो ।