काठमाडौं : तीन दिनदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन सकिँदै छ । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव संसोधन सहित पारित गर्दै महाधिवेशन सकिन लागेको हो । आइतबार बाँकी पाँच समूहले सुझाव प्रस्तुत गर्ने कार्यूसूची छ ।
प्रस्तावमाथि छलफल गर्न गठित १० वटा समूह मध्ये ५ समूहले शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् ।
त्यसपछि राजनीतिक प्रतिवेदनमाथि प्राप्त सुझावमा पार्टी अध्यक्ष ओलीले, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेलले र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिने एमालेले जनाएको छ । जवाफपछि संसोधन सहित तीनवटै प्रस्ताव पारित गर्ने तयारी छ ।
महाधिवेशनमा निर्वाचन खर्चिलो भएको, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पदाधिकारीको व्यवस्था गर्नुपर्ने, सात उपाध्यक्ष र सात सचिवको व्यवस्था पनि विधानमा समेट्नुपर्ने सुझाव दिएका छन् ।
७० वर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने, पार्टीमा लेबी तथा आर्थिक दायित्व बाँकी बक्यौता रहेका व्यक्तिलाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने पनि सुझाव पनि आएको छ । एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने माग पनि उठेको छ । शुक्रवारदेखि सुरु महाधिवेशनमा ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी छन् ।