एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल
काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशनमा आजदेखि समूहगत छलफल शुरु भएको छ । शुक्रबार प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शनिबार बिहानदेखि समूहगत छलफल भैरहेको हो ।
समूहगत छलफलको निस्कर्ष दिउँसो दुई बजेपछि हुने महाधिवेशनको पूर्ण सत्रमा प्रस्तुत हुनेछ ।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र सल्लाहकार परिषद्को प्रतिवेदनलाई पनि पूर्ण सत्रमा प्रस्तुत गरिनेछ ।
ति प्रतिवेदनलाई समूहगत छलफल गरिरहनु नपर्ने भएकाले पूर्ण सत्रमा प्रस्तुत गर्न लागिएको हो ।
विधान महाधिवेशनलाई व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ । अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ । विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।