एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै २०७४ सालपछि बनेको सरकार पनि ढालेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेल पुष्पकमल दाहाल र माधव नेपालले शुरु गरेको आरोप लगाए ।

शुक्रबारबाट शुरु भएको एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा दाहाल र नेपाल सक्रिय भएको र तिनै पात्रले आफू विरुद्ध घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप पनि लगाए । उनले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएका नेताको प्रशंसा गरे । एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको उनको दावी छ ।

अध्यक्ष ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवार रुपमा कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि भैरभाव नराख्नु भएको बताए ।।

Leave A Reply

Your email address will not be published.