पहिलोपटक नेपाली महिलाद्वारा धवलागिरि हिमालको सफल आरोहण
काठमाडौं : संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् ।
धवलागिरि गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन । सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले शुक्रबार बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको जानकारी दिएको हो ।
काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समूह हो । गोरखा आरुघाटकी पूर्णिमाको वैशाखमा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।
उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।