एजेन्सी : इक्वेडरको कारागारमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल सहरस्थित जेलमा भएको झडपमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।
झडपका क्रममा पाँच जनाको टाउको काटिएको र अन्यको गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । बन्दी गृहका दुई समूहबीच भएको झडपलाई हालसम्मकै अप्रिय घटना मानिएको छ ।
झडपका क्रममा बन्दीहरुले ग्रिनेट समेत प्रहार गरेको पाइएको छ । एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै छिरेर विपक्षी समूहमाथि आक्रमण गरेको बताइएको छ ।
जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको बताइएको छ । झडपपछि स्थिती नियन्त्रणमा लिन चार सय प्रहरी परिचालन गरिएको थियो । करिब १२ घन्टापछि सुरक्षाकर्मीले कारागारलाई नियन्त्रणमा लिएका छन् ।
सो जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो । कारागारभित्र झडप गराउन शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको इक्वेडरका सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् । गत फेब्रुअरीमा पनि सोही जेलमा भएको झडपमा ७९ बन्दी मारिएका थिए ।