एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने

0

काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने जानकारी दिए ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन् । केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च पर्छन् । त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए ।

जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् ।

त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्यले सहभागी हुने भट्टराईले बताए । यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने भट्टराईले बताए ।

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव घनश्याम भुसालले फरक मत राखेका छन् । ओलीले पेश गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले तीन वटा बुँदामा फरक मत राखेका हुन् ।

उनले जनताको बहुदलीय जनवादबारे प्रतिवेदन अस्पष्ट भएको, समाजवादबारे पार्टी अलमलमा परेको र संसद् विघटनबारे प्रष्ट दृष्टिकोण नभएको विषय उठाएका हुन् । भुसालले संसद् विघटनको कामलाई असंवैधानिक कदम भनौँ भनेर पनि प्रस्ताव पेश गरे ।

Leave A Reply

Your email address will not be published.