नेकपा एकीकृत समाजवादीमा पदाधिकारी चयन (सूचीसहित)
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि शुरु भएको बैठक बिहीबार सम्पन्न भएको हो ।
बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको जनाइएको छ ।
केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा वरिष्ठ नेता, नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहितका पदाधिकारी टुंगो लगाएको छ ।
वरिष्ठ नेतामा झलनाथ खनाल र नेतामा मुकुन्द न्यौपाने चयन भएका छन् । उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ प्रसाद साह, घनेन्द्र बस्नेत, जयन्ती राई र प्रमेश हमाल छनोट भएका छन् ।
महासचिवमा बेदुराम भुसाल चयन भएका छन् भने उपमहासचिवको जिम्मेवारी विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वालालाई दिइएको छ ।
यसैगरी, सचिवमा जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ, रामकुमारी झाँक्री र राजेन्द्र राई चयन भएका छन् ।

