रत्नपार्कमा बसेर वितरण गरिएको जसरी ह्वारह्वार पदक बाँडियो : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सरकारले ‘रत्नपार्कमा बसेर वितरण गरिएको जसरी ह्वारह्वार’ पदक बाँडेको आरोप लगाए ।

अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नगरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले त्यसरी पदक वितरण गर्दा पनि चुप लागेर बसेको बताए । उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए ।

सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध समेत गरे । सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ ।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे ।

उनले कार्यकाल सवा वर्ष भएको सरकारले ७०–७२ दिनसम्म मन्त्रीपरिषद् नै पूर्ण बनाउन नसकेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे । उनले भण्डारीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको चर्चा समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.