न्याय नपाएसम्म विरोध जारी रहन्छ : एमाले
काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ । एमालेको अवरोधबीच सोमबार संसदबाट विनियोजन विधेयक पास भएपछि संसदबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा विरोध जारी रहने बताएका हुन् ।
दल विभाजनमा सभामुखले भूमिका खेलेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर अन्याय गरेको भन्दै न्याय नपाएसम्म विरोध जारी रहने उनको भनाइ छ ।
बजेट पारित गर्ने क्रममा सांकेतिक विरोध मात्रै गरिएको प्रमुख सचेतक भट्टराईले बताए । उनले आफ्नो दलले भूमिकाअनुसार सांकेतिक विरोध मात्रै गरेको प्रतिक्रिया दिएका हुन् ।
संसदीय व्यवस्था अनुसार प्रमुख प्रतिपक्ष दल उभिएर रोष्ट्रम घेर्न गएपछि सदनबाट बिजनेस नचल्ने भए पनि सभामुख अग्नि सापकोटालाई यो विषय बुझ्न समय लाग्ने उनले बताए ।
एमालेले जनताको आवाज उठाउन नदिन संसद अवरोध नगरेको पाँच दिन अवरोध हुँदैमा जनताको आवाज उठाउन नदिएको भन्न नमिल्ने भट्टराईको प्रतिक्रिया छ ।