देशभर खोप अभियान शुरु, ११ दिनसम्म चल्ने, यी हुन् लक्षित समूह
काठमाडौं : सरकारले सोमबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन शुरु गरेको छ । खोप अभियान असोज १४ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको छ । अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्लाअनुसार खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिन शुरु गरिएको छ ।
काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको छ ।
यीबाहेक अरू ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिन थालिएको मन्त्रालयले जनाएको छ । सरकारले चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरेको छ ।