संविधानको रक्षा एमालेकै अगुवाइमा मात्र हुन्छ : ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन गर्ने व्यक्तिमा समस्या हुन सक्ने भएपनि संविधान पूर्ण रहेको बताएका छन् । 

संविधान दिवसका अवसरमा राजधानीमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा केही कमी नभएको बताएका हुन् । 

संविधानलाई लिएर मधेशकेन्द्रित दलहरुले विरोध गरिरहेका बेला ओलीको यस्तो भनाइ आएको हो । संविधान पूर्ण रहेको बताउँदै उनले केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रित गर्ने संघीय प्रणाली तय गरिएको उल्लेख गरे । 

शासकीय प्रणालीमा प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्था, कानुनी शासन, मानवअधिकार, स्वतन्त्र न्यायपालिका यसका मुख्य विशेषता भएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले कांग्रेस–माओवादीजस्ता दलहरूले खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको भन्दै यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताए । संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएकोसमेत उनले बताए ।

त्यस्तै कार्यक्रममा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले घोषणा गरेको पदक अस्वीकार गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरूलाई सुझाव दिए । सरकारले घोषणा गरेको पदक संसद विघटन बदर गर्ने न्यायाधीशले पाउनु ‘चितुवा कराउनु र सिंगारी खसी हराउने’ जस्तै भएको बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध काम गरेका व्यक्तिलाई छानीछानी पदक दिएको उनले आरोप लगाए ।

यस्तै कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनको चरणमा पार्टीले फ्रन्टलाइनमा काम गरेको बताए । उनले सामाजिक न्याय, समानता, पछाडि परेका वर्गको अधिकारको हिसाबले प्रगतिशील संविधान बनाएको र संघीयता कार्यान्वयनमा गएको बताए ।

संविधान जारी भएपछि बहिस्कार गरेर आन्दोलन गरेका शक्तिहरू मूलधारमा आएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.