आज सातौँ संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।
आजकै दिन नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ।
दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ। उपेन्द्र यादव समूहको सत्तारुढ जनता समाजवादी पार्टीले दिवस बहिष्कार गर्ने निर्णय गरेको छ।
यसैगरी महन्थ ठाकुर नेतृत्वको विपक्षी दल लोकतान्त्रिक समाजवादीले पनि संविधान विभेदकारी भएको भन्दै कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ।
नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान नै यो पहिलो हो । नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।
दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनले दोहोर्याएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि दिवसका अवसरमा शुभकामना दिएका छन् ।