इन्द्रजात्रा पर्व शुरु, बसन्तपुरमा लिङ्गो ठड्याइयो
काठमाडौं : उपत्यकाकै प्राचिन ठुलो सांस्कुतिक विशेष पर्व इन्द्रजात्रा शनिबारबाट शुरु भएको छ । इन्द्र देवताको पूजाआजा गर्दै मनाइने इन्द्रजात्रा अन्र्तगत आज विहान हनुमानढोका परिसरमा इन्द्रजात्राको इन्द्रध्वजोत्थान तथा लिंगो ठडयाएपछि जात्रा शुरु भएको हो । बिहान छ बजेर एकाउन्न मिनेटको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम छ ।
सोमबार माथिल्लो टोल यात्रा गराइने कार्यक्रम छ । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्रा पूरा हुनेछ ।
कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको हो ।
वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने गरेको धार्मिक विश्वास छ ।