प्रदेश १ प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने
काठमाडौं : प्रदेश नं १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउनने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले सोही प्रयोजनका लागि बैठक बोलाइएको हो ।
ठुलो दलको हैसियतमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सो आधारमा आगामी असोज २२ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पठाउनुपर्ने छ । यस आधारमा असोज २४ सम्ममा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रदेशसभामा नेकपा एमालेको ५१ सांसदसहित बहुमत रहेकोमा १० जना सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । हाल प्रदेशसभामा एमालेको ४१ सांसदमात्र छन् ।
प्रदेशसभामा कायम रहेका ९२ सदस्यमध्ये विपक्षी गठबन्धन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।
मुख्यमन्त्री शेरधन राईलाई पदबाट राजीनामा गराएर आचार्य भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभामा भदौ २५ गते शुक्रबार संसदीय दल विभाजन भएको जानकारीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै संसद सचिवालयलाई जानकारी दिनुपर्ने हुन्छ ।