संसद अवरोधका बारे ओलीलाई सोध्नुस् : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोधका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न सुझाव दिएका छन् ।
आइतबार संसद अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीलाई देउवाले संसदको अवरोधका बारेमा ओलीसँग सोध्न सुझाव दिएका हुन् ।
संसदको चालू अधिवेशन शुरु भएदेखि नै एमालेले सदनमा अवरोध गरिरहेको छ । अवरोधकाबीच यसअघि सदनमा विभिन्न अध्यादेश पेश गरिएको थियो । यसरीनै संसद कति दिन चलाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले ओलीलाई सोध्न सुझाव दिएका थिए ।
त्यस्तै संसद भवनमा एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङले १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँस गरेर निकाले एमाले लचक हुनसक्ने बताए । उनले सूचना टाँस गरेपछि सहमतिको एउटा आधार बन्न सक्ने तर्क गरे ।
नेम्वाङले प्रतिपक्षीले लगातार सदन अवरुद्ध गर्दा पनि सत्तापक्ष र सभामुखले पेल्न खोजेको र संवाद नचाहेको आरोप लगाए ।