काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच संसद् सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रतिपक्षले गरिरहेको संसद् अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।
करिब दुई घण्टा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भए पनि प्राथमिकता भने संसद्को अवरोध हटाउने विषयले पाएको थियो । बैठकले संसदको अवरोध हटाउन विपक्षी दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको नेताहरुले बताएका छन् ।
यसअघि गत हप्ता नै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी भएपनि दलहरुबीच भागवण्डामा सहमति नजुट्दा विस्तार रोकिएको छ ।
दलहरूबीच फेरि बैठक बस्ने र चाँडै मन्त्रिपरिषद्मा गठबन्धनको सहभागिताको विषय टुंग्याइने बताइएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी थिए ।