सर्वसाधारणका लागि खुल्यो पशुपतिनाथ मन्दिर
काठमाडौं : साढे चार महिनापछि पशुपतिनाथ मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि खुला गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरेर मन्दिर खुला गरिएको हो । तत्काललाई मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला हुने छ ।
पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।