तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा
एजेन्सी : तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा सरकार घोषणा गरेको छ । तालिबानका संस्थापक मध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्दीको नेतृत्वमा तालिबानले सरकार घोषणा गरेको हो । अखुन्दी संयुक्त राष्ट्रसंघको कालोसूचिमा छन् ।
तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ पनि घोषित गरेको छ । मन्त्रिपरिषदमा महिला सहभागिताको माग गरिए पनि नयाँ मन्त्रिपरिषदका सबै सदस्य पुरुष रहेका छन् ।
तालिबानले यसअघि आफूहरु समावेशी सरकार बनाउन चाहेको बताएको थियो । तालिबान शीर्ष नेता सहभागी गराएर मन्त्रिपरिषद गठन गरिएको छ ।
मन्त्रिपरिषदमा सामेल हुनेमा अमेरिकाको दुई दशक लामो सैन्य अभियानको क्रममा उनीहरुमाथि आक्रमण गर्ने वा योजना बनाउने मुख्य योजनाकार पनि छन् ।
तालिबानले गएको अगस्ट १५ मा निर्वाचित सत्तालाई हटाएर आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो । तर मंगलबार घोषणा गरिको सरकारका सबै सदस्य भने पुरुष रहेका हुन् ।
तालिबानका सर्वोच्च नेता मौलवी हिबातुल्लाह अखुन्दजादाले जारी गरेको वक्तव्यमा तालिबान सरकारलाई अफगानिस्तानमा शरिया कानून लागु गर्न भनिएको छ ।
तालिबान आपसी सम्मान र संवादका आधारमा सबै छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग बलियो तथा स्वस्थ सम्बन्ध राख्न चाहने उल्लेख छ ।