भारी वर्षाका कारण काठमाडौंका खोला किनाराका बस्ती डुबानमा, चार सय घर डुबे, १५० जनाको उद्धार
काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका खोला किनारका बस्ती डुबानमा परेका छन् ।
काठमाडौंको बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेको हो ।
बाढीका कारण उपत्यकामा मात्रै चार सय घर डुबेका छन् । डुबेका घरमा फसेका १ सय ५० भन्दा बढीको प्रहरीले उद्दार गरेको छ ।
जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ । मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । त्यस्तै उपत्यका भई बहने साना नदीहरूमा पनि जलसतह बढेको र त्यसले नदीकिनारमा रहेका बस्तीहरू डुबानमा परेको छ । धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवीलगायतका बस्तीहरू डुबानमा परेको छ ।
त्यस्तै मनोहराको बाढी पनि बस्तीमा पसेको छ । बागमतीमा आएको बाढीले शंखमुल पार्कदेखि टेकुसम्मको क्षेत्र डुवाएको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।
बाढी र डुबानबाट भएको क्षतिको पुर्ण विवरण भने आइसेको छैन । टेकु, बानेश्वर र ललितपुर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । जसका कारण यो क्षेत्रका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आएको हो ।