एमसीसी झुक्याएर पास गर्न खोजियो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् ।
एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले एमसीसीको बारेमा सत्तारुढ गठबन्धनले प्रष्ट धारणा नराखेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
नेकपा एमालेका अध्यक्ष ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको समेत दाबी गरे । सीमा विवाद नै नरहेको ठाउँमा अध्ययन समिति गठन गर्नुको रहस्य के भन्दै अध्यक्ष ओलीले सरकारले नियत पनि ठीक नभएको टिप्पणी गरे ।
पार्टी विभाजन गरेकोमा माधव नेपालप्रति खनिएका अध्यक्ष ओलीले केही अराजक समूह पार्टीबाट बाहिरिँदैमा कुनै असर नपर्ने दाबी गरे । उनले नेता नेपालले आफैले पूजा गरेको मन्दिरमा आफैले थुकेको भन्दै कडा आलोचना गरे ।
आफू नेतृत्वको सरकारले जति विकास निर्माणमा काम कसैले गर्न नसक्ने जिकिर गरेका अध्यक्ष ओलीले अब मेलम्चीको पानी काठमाडौँ ल्याउन पनि एमाले नै सरकारमा आउनुपर्ने दाबी गरे ।