आगामी चुनावबाट एमाले फेरि सरकारमा फर्किन्छ : प्रदीप ज्ञवाली
काठमाडौं : नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार विदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन् ।
शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोप लगाएका हुन् ।
उनले दार्चुलामा तुइन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका विषयमा सरकार मौन बसेको पनि आरोप लगाए ।
ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने तर्क गरे । उनले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दाबी गरे ।
आगामी भाद्र २२ गते अध्यादेश निष्कृय पारेर सरकार विस्तार गर्ने योजना देखिएको भन्दै उनले गठबन्धनले लज्जास्पद काम गरेको बताए । उनले केही एमालेका नेताहरु गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वान गरे ।
उनले एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय अभियानका साथ अघि बढाउने जिकिर गरे ।