काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ ।
क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा वडा अधिवेशन हुन लागेको हो । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।
करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।
वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।
मुलुकभरका सबै छ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २ सय १ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने कांग्रेसले जनाएको छ ।
त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५ सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
कांग्रेसको गाउँपालिका, नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।