पौडेल समूहले सभापतिमा साझा उम्मेद्वार बनाउने

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने जनाएको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पौडेल समूहले एक जना मात्रै सभापतिको उम्मेदवार बनाउने जनाएको हो ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जनाले संस्थागत उम्मेद्वारी दिने र आफ्नो समूहको एकता अधिवेशनको अन्तिमसम्म कायम रहने बताए ।

उनले महाधिवेशनमा आफ्नो पक्षका नेताहरुले दिइने उम्मेवारीका अन्य पदका बारेमा छलफल जारी रहेको जिकिर गरे ।

नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न आवश्यक रहेको भन्दै जनताको भरोसाको पार्टी बनाउनुपर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएको भन्दै यसलाई विधिसम्मत समाधान गर्नुपर्ने धारणा पनि राखे । त्यस्तै उनले पार्टीभित्र सुधारको खाँचो रहेको बताए ।

पत्रकार सम्मेलनमा सभापतिका आकांक्षी पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सहभागी थिए ।

यसअघि कृष्ण सिटौला समूहमा रहेका गगन थापा पनि पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.