आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।
भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमीको रुपमा मनाउने प्रचलन छ ।
आज देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मोका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको हो । अन्य कृष्णमन्दिरहरुमा पनि सर्वसाधारणलाई भिड नगर्न र स्वास्थ्य सतकर्ता अपनाउन आग्रह गरिएको छ । श्रीकृष्णटमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।