काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नयाँ दलमा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले भदौ ९ मा निर्वाचन आयोगबाट मान्यता पाएका थिए ।
अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ ।
यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।