नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यस्तै संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समितिमा छन् ।
यस्तै संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको छ ।
बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ ।
समाजवादीले सरकारमा सहभागी हुने निर्णय गत शुक्रबार नै गरिसकेको छ ।
नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।