सबै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने कांग्रेसमा सहमति
काठमाडौं : नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
कांग्रेस जिल्ला सभापतिहरुले थालेको अनसन पनि अन्त्य गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको छ । कांग्रेसका जिल्ला सभापतिहरु क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने लागयतका तीन बुँदे माग राख्दै ९ भदौदेखि रिले अनशनमा छन् ।
जिल्ला सभापतिको उम्मेदवारको हकमा दोहोरो मापदण्ड हटाउनुपर्ने जिल्ला सभापतिहरुको माग छ । कृष्ण सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले शनिवार दिनभर छलफल गरेर अनसन अन्त्य गर्न पहल गर्ने बताइएको छ ।
सभापति देउवासँगको सहमतिपछि महाधिवेशन तयारीका विषयमा पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
पौडेल पक्षका नेताहरुबीच नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा साझा उम्मेदवार तय गर्ने लगायत विषयमा शनिबार बिहान पनि छलफल भएको छ ।
१४ औं महाधिवेशन नजिकिएसँगै पौडेलले आफू पक्षीय नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।