सरकारमा सहभागी हुन्छौं : माधव नेपाल

0

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । 

नयाँ पार्टी दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेकपा एकिकृत समाजवदीका अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताउँदै सरकारमा सहभागी हुने बताएका हुन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिए ।

उनले नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओलीले पार्टी कब्जा गर्न खोजेकाले एमालेभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन नयाँ पार्टी गठन गरेको दाबी गरे ।

ओलीले मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्काशन गरेपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको उनले बताए ।

आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आउने क्रम जारी रहेको बताए । उनले देशभरका नेता कार्याकर्तालाई एमाले छाडेर आउन अपिल गरे ।

आफ्नो साथ छोडेका नेताहरु प्रति लक्षित गर्दै अध्यक्ष नेपालले लामो यात्रामा जँदा कोही बीचमै थाकेर छुट्ने टिप्पणी गरे । उनले हिम्मत नभएकाहरु थन्किएर बस्दा पनि क्रान्तिकारी चेत भएकाले आन्दोलनलाई नयाँ ढंगले उठाउने बताए ।

नेपालले आफ्नो साथ छोड्नेहरुले पहिला चाँडै नयाँ पार्टी दर्ता गर्न आग्रह गरेका कारण निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको पनि खुलासा गरे ।

उनले हजारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नयाँ पार्टी खोल्न ढिलाइ गरेको नेता नेपालले बताए । पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको नेपालको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.