लोकतान्त्रिक समाजवादी पार्टीका १४ सांसद र १७ केन्द्रीय सदस्यले गरे सनाखत
काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत सकिएको छ ।
जनता समाजवादी पार्टीका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर लोकतान्त्रिक समाजवादी पार्टी पक्षमा सनाखत गरेका छन् ।
जनता समाजवादी पार्टीबाट विभाजन भएर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए ।
सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
जनता समाजवादी पार्टीका ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खुकुलो पार्दै सांसद वा केन्द्रीय सदस्यमध्ये २० प्रतिशत पुर्याएपछि नयाँ दल दर्ता गर्न सहज बनाएको थियो ।